काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार पक्राउ, सञ्चारगृहमा प्रहरी प्रवेश र न्यायालयसँग जोडिएका विवादित घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय विशेष समिति गठन गर्नुपर्ने माग अघि सारेको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले समाचार संकलन र प्रकाशन गरेको आधारमा पत्रकारलाई पक्राउ गर्नु तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको ठहर गरेको हो।
कांग्रेसले पक्राउको कानुनी आधार र अदालतको अनुमति स्पष्ट नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वेच्छाचारी प्रवृत्ति भएको जनाएको छ। यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने पार्टीको माग छ।
कांग्रेसले सरकारलाई संविधान र कानुनको सीमाभित्र रहेर काम गर्न सचेत गराएको छ। निर्वाचनबाट प्राप्त जनमत शासन सञ्चालनको अधिकार भए पनि त्यसले संविधान, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि हस्तक्षेप गर्ने छुट नदिने कांग्रेसको भनाइ छ।
न्यायपालिकाको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र शक्तिपृथकीकरणका सिद्धान्तमाथि कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै कांग्रेसले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल हुनुपर्नेमा जोड दिएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ र न्यायालयसँग सम्बन्धित घटनाबारे विपक्षी दलहरूसँग छलफल गरेर साझा निष्कर्षमा पुग्ने बताए।
उनले विवादित घटनाको उच्चस्तरीय छानबिनका लागि संसदीय समिति आवश्यक रहेको र आचरणविपरीत काम गरेका न्यायाधीशमाथि महाभियोग लगाउने सम्भावनाबारे सत्तारूढ दलको निर्णय आएपछि मात्रै स्पष्ट हुने बताए। कांग्रेसले जनसरोकार र सुशासनका मुद्दामा सरकारलाई सहयोग गर्ने तर लोकतान्त्रिक व्यवस्था, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि आघात पुगे विरोध गर्ने आफ्नो नीति रहेको पनि स्पष्ट पारेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij