२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यमा एक निजी व्यावसायिक जेट विमान दुर्घटना हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको छ ।

अमेरिकाका यातायात सचिव सिन डफीका अनुसार आइतबार भएको दुर्घटनामा लियरजेट–६० विमानमा सवार नौ जनाको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे फ्लोरिडाको पाम बिच काउन्टीस्थित क्रेस्टहेभन बस्ती नजिक विमान दुर्घटनामा परेको थियो । उक्त स्थान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिसोर्टबाट करिब १४ किलोमिटर टाढा रहेको छ ।

दुर्घटनापछि घटनास्थलको सडकमा ठूलो खाल्डो परेको छ भने आगो लागेको र विमानका टुक्रा तथा कङ्क्रिटका अवशेष छरिएको दृश्य सार्वजनिक भएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो ।

अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट तथा उडानसम्बन्धी तथ्याङ्क विश्लेषणले दुर्घटनाअघि विमान तीव्र गतिमा तल झरिरहेको देखाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट ड्यासक्याम दृश्यमा विमान लगभग ठाडो अवस्थामा जमिनतर्फ खस्दै विस्फोट भएको देखिन्छ ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दुर्घटनाको दृश्य निकै भयावह रहेको बताए । उनले विमान क्षेप्यास्त्रजस्तै तल खसेर ठूलो विस्फोट भएको र त्यसपछि चारैतिर भग्नावशेष छरिएको बताएका छन् ।

दुर्घटनापछि पाम बिच काउन्टी अग्नि उद्धार सेवाले घटनालाई ठूलो संख्यामा मानवीय क्षति भएको आपतकालीन घटनाका रूपमा घोषणा गरेको छ ।

स्थानीय अधिकारीहरूले नजिकैको मोबाइल होम पार्क क्षेत्रका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् । विमान खस्दा स्थानीय पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । विशेषगरी खानेपानीका पाइपलाइनमा क्षति पुगेकाले दुर्घटनास्थल आसपासको सडक पुनः सञ्चालन गर्न कम्तीमा ३० दिन लाग्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij