२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सरकारले आफूलाई चाहिएको प्रतिवेदन मात्रै प्रयोग गरेको भन्दै गगन थापाको आपत्ति

सरकारले आफूलाई चाहिएको प्रतिवेदन मात्रै प्रयोग गरेको भन्दै गगन थापाको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छानबिन समिति गठन गर्ने तर त्यसका प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा विशेष सम्बोधन गर्दै सभापति थापाले विगतका घटनामा गठन भएका समितिका प्रतिवेदन नै सार्वजनिक नभएको अवस्थामा सरकारको अनुसन्धान प्रक्रियामाथि कसरी विश्वास गर्ने भन्दै प्रश्न उठाएका हुन् ।

उनले सरकारको अनुसन्धान निष्पक्ष हुनेमा गम्भीर आशंका रहेको बताए । उनले गृहमन्त्रीको सम्पत्तिसम्बन्धी विवादमा गठन गरिएको छानबिन समिति, भदौ २४ को घटना तथा सुनसरीको कप्तानगञ्ज घटनाको अनुसन्धान गर्न बनेका समितिका प्रतिवेदनबारे सरकारसँग जवाफ मागे ।

उनले भने, ‘सरकारबाट अनुसन्धान निष्पक्ष हुन्छ भन्नेबारे हाम्रो ठूलो प्रश्न छ,’ विगतका नजिर हेर्दा छानबिन समिति गठन गर्नुको औचित्य नै देखिँदैन।’ सरकारले आफूलाई अनुकूल हुने विषयमा मात्रै छानबिन प्रतिवेदन प्रयोग गर्ने गरेको आरोप लगाउँदै उनले अन्य प्रतिवेदन गुपचुप राख्नुले नागरिकप्रति सरकारको जवाफदेहिता कमजोर भएको बताए।

सभापति थापाले सरकारको यस्तो कार्यशैलीलाई गैरजिम्मेवार र स्वेच्छाचारी प्रवृत्तिको संज्ञा दिँदै राज्यका गतिविधिमाथि नागरिकले निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij