काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार राति विज्ञप्ति जारी गरी कानुनविपरीत पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीलाई दुःख दिने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको कांग्रेसको टिप्पणी छ। विगतमा पनि शासकहरूले आफूहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेका घटना स्मरण गराउँदै कांग्रेसले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ।
कांग्रेसले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै पत्रकार वा सञ्चारमाध्यमबाट कुनै त्रुटि भएको भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्ने जनाएको छ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनको मर्मविपरीत भएको कांग्रेसको भनाइ छ। विज्ञप्तिमा यस घटनाको कडा शब्दमा भत्र्सना गर्दै सञ्चारमाध्यम र पत्रकारमाथिको हस्तक्षेपलाई निन्दनीय तथा आपत्तिजनक भनिएको छ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij