काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्नुपर्ने भएकाले कात्तिक १३ गतेदेखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणका अनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ हाईभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, कात्तिक १४ गते सितापाइला, १५ गते कलंकी, थानकोट तथा रोपवे र १६ गते बाफल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यसैगरी, कात्तिक १७ गते शंखमूल, १८ गते सतुंगल, १९ गते स्युचाटार सबस्टेसन तथा २० गते पुनः सतुंगल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
निर्धारित तालिकाअनुसार कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन, कलंकी चोकदेखि ताहाचल अड्डा, संयुक्त राष्ट्रसंघीय उद्यानदेखि बिजुली बजार, धौलागिरि आवास, मातातीर्थ तथा हाज्मा पुल क्षेत्रसमेत प्रभावित हुने जनाइएको छ ।
प्रतिकूल मौसम भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij