२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

दशैंपछि मुक्तिनाथ मन्दिरमा बढे दर्शनार्थी

दशैंपछि मुक्तिनाथ मन्दिरमा बढे दर्शनार्थी

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ । दसैँ अगाडि प्राय: सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौँ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिति हुन सकेको थिएन ।

मुक्तिनाथमा दर्शनार्थीको संख्या बडेसँगै बेनी-जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ ।

तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए । ललितपुरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरला नाका घुम्न आएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij