२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सिके राउत मन्त्री बन्दैछन् ?

सिके राउत मन्त्री बन्दैछन् ?

काठमाडौँ- मधेस केन्द्रीत प्रमुख दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई साइजमा राख्न जनमत पार्टीलाई सरकारमा सहभागी गराउनै पर्ने बाध्यतामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउत आफैं सरकारमा सहभागी हुनुपर्ने आग्रह स्वीकार गर्दै उपप्रधानसहित शहरी विकास पाए आफू सरकारमा सहभागी हुन तयार भएको जनाएका छन् ।

लामो समयदेखि उद्योग, कृषि जस्ता मन्त्रालय मागे पनि नपाएको भन्दै अब ती मन्त्रालय दिए पनि सरकारमा सरकारमा नजाने राउतको अडान छ । ‘शहरी विकास मन्त्रालय दिए सरकारमा अध्यक्षज्यु आफैं सहभागी हुन्छु भनेर प्रधानमन्त्रीलाई जवाफ दिनुभएको छ । वरियता मिलाउन उपप्रधानमन्त्री त चाहियो नै’ राउत निकट स्रोतले भन्यो ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् । उनले जनमतलाई नै सरकारमा सहभागी गराउनको लागि मन्त्रिपरिषद हेरफेरको गृहकार्य थालेका छन् ।

यसरी जनमतलाई सरकारमा भित्र्याउँदा प्रधानमन्त्री दाहालले आफ्नै पार्टीमा सरकारमा सहभागी एक मन्त्रीलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्ने चर्चा छ । त्यसको लागि उनले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने तयारी गरेको पनि समाचार बाहिरिएका छन् ।

तर, गठबन्धनका शीर्ष नेताहरुको छलफलमा नेपाली कांग्रेसले पनि एक मन्त्रालय त्याग गर्न सक्नेबारे छलफल अघि बढेको छ । राउतले सहरी विकास मन्त्रालयको लागि अडान लिए भने अहिलेकी सहरी विकास मन्त्री सिता गुरुङ त्याग गर्न तयार हुनेछिन् । यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवासमेत सकारात्मक रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij