काठमाडौं । काठमाडौं महानगरपालिकाले यही १३, १४ र १५ कात्तिकमा फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही १३ कात्तिकमा वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।
फिल्म प्रदर्शन साझेदारीका रूपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौंस्थित अमेरिकी र अस्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रान्सेजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।
यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।
सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौं म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेनियरिङ एसोसिएसन) सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आईएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेन्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र ‘सिन्दूर’को खुला प्रदर्शन हुनेछ । नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ ।
फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेन्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै, महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेन्ज’का विजेतालाई अवार्ड र ‘नेपाल पानोरामा’बाट छानिएकालाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरू सञ्चालन हुनेछन् । ८ कात्तिक आइतबार वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ ।
काठमाडौं महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवर्द्धनको माध्यमका रूपमा विकास र विस्तार गरिरहेको जनाएको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेसाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकलाई जोड्ने काम भइरहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij