अस्टिन, टेक्सास।
दसैँको अवसर पारेर अस्टिनमा अक्टोबर १७, १८ र १९ तारिख दसैँ मेला हुने भएको छ। इजी पिपलले आयोजना गर्न लागेको मेला मनपसन्द सुपरमार्केटको अगाडिको भवन परिसरमा तीनै दिन अपराह्न ४ बजेदेखि राति १२ बजेसम्म चल्नेछ।
मेलामा खानपान, लत्ताकपडा, गरगहना, हस्तकलाका सामान र चाडपर्वमा आवश्यक पर्ने सामग्रीका स्टल रहनेछन्। किनमेलसँगै भेटघाट र रमाइलो गर्न आउनेका लागि तीनै दिन डिजे संगीतको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।
इजी पिपल सप्लायरका सञ्चालक कुशल नहर्कीले मेला नाफा कमाउनभन्दा पनि स्थानीय व्यवसायीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना गर्न लागेको बताए। उनका अनुसार तीन दिनका लागि स्टल शुल्क जम्मा २०० डलर राखिएको छ। यो रकम व्यवसायीलाई टेन्ट, टेबल र कुर्सी उपलब्ध गराउनका लागि मात्र लिइनेछ।
साना व्यवसायदेखि घरबाट सामान बनाएर वा बिक्री गरेर व्यवसाय चलाइरहेकाहरूले पनि मेलामा सहभागी हुन सक्नेछन्। चाडपर्वका बेला आफ्ना सामान बेच्न र नयाँ ग्राहकसँग चिनजान गर्न मेलाले सहयोग गर्ने नहर्कीको भनाइ छ।
आयोजकका अनुसार थुप्रै व्यवसायीले मेलाबारे चासो देखाएका छन् र स्टल बुकिङ पनि भइरहेको छ। जम्मा २० वटा स्टलका लागि मात्र अनुमति लिइएकाले सहभागी हुन चाहने व्यवसायीलाई समयमै बुकिङ गर्न आयोजकले आग्रह गरेका छन्।
मेलामा साडी, कुर्ता तथा अन्य परम्परागत पोसाक, गरगहना, उपहार, घर सजावट र पूजा सामग्री पनि पाइनेछन्। सौन्दर्य सामग्री, मेहन्दी र घरेलु उपयोगका सामानका स्टलसमेत रहनेछन्।
आयोजकले अस्टिन, फ्लुगरभिल र आसपासमा बस्ने नेपालीहरूलाई परिवार र साथीभाइसँग मेलामा आउन निम्तो दिएका छन्। चाडपर्वको व्यस्तताबीच एकै ठाउँमा भेटघाट गर्न, खुसी साट्न र स्थानीय व्यवसायलाई साथ दिन मेलामा सहभागी हुन आग्रह गरेका छन्।
मेलामा मनपसन्द सुपरमार्केट, साइलीको बुटिक, अल्टर एन्ड थ्रेडिङ, गोर्खा बर्गर, आपका बजार सुपरमार्केट, निम्तो किचन, लाली सन र डग च्युलगायत अन्य धेरै व्यवसायी जोडिएका छन्।
मेलास्थलको ठेगाना 12625 N Interstate Hwy 35, Austin, TX 78753 हो। स्टल बुकिङ वा मेलाबारे बुझ्न 512-299-1753 र 512-521-6220 मा फोन वा सन्देश पठाउन सकिनेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij