२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

बलिउडका दिग्गज कलाकार नाना पाटेकरको निधन

बलिउडका दिग्गज कलाकार नाना पाटेकरको निधन

बीबीसी हिन्दी। भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको गोवामा निधन भएको हो । नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन् ।

नाना पाटेकरको निधनप्रति वरिष्ठ पत्रकार राजदीप सरदेसाईले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एक शानदार अभिनेता, तर सबैभन्दा बढी एक प्रिय मित्र नाना पाटेकर अब रहनुभएन । केही समयअघि मात्र गोवामा उहाँको निधन भयो । हिजो मात्रै उहाँसँग कुराकानी भएको थियो । उहाँका अन्तिम शब्द थिए– ‘कालजी घे राजा’ अर्थात् आफ्नो ख्याल राख, राजा ।’

नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’ मा देखिएका थिए । शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो । चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।

उनले अनिल कपुर अभिनीत ‘सुबेदार’ मा पनि अभिनय गरेका थिए । उक्त चलचित्रको मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको थियो । त्यसअघि उनी ‘हाउसफुल–५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिएका थिए ।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए ।

अभिनयसँगै पाटेकरले ‘प्रहार : द फाइनल अट्याक’ चलचित्रको निर्देशनसमेत गरेका थिए । चलचित्र तथा कला क्षेत्रमा उनको योगदानका लागि सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो ।

नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको चलचित्र ‘गमन’ बाट बलिउडमा प्रवेश गरेका थिए । सन् २००० को दशकको सुरुवातदेखि उनको अभिनयले व्यापक प्रशंसा पाएको थियो । विशेषगरी ‘शक्ति : द पावर’ (२००२), ‘अब तक छप्पन’ (२००४), ‘अपहरण’ (२००५) र ‘ट्याक्सी नम्बर ९२११’ (२००६) मा उनको अभिनय चर्चित बनेको थियो ।

सन् २००७ मा आएको हास्य चलचित्र ‘वेलकम’ मा ग्याङ्स्टर उदय शेट्टीको भूमिकामार्फत उनले दर्शकको मन जितेका थिए । पछि ‘वेलकम ब्याक’ (२०१५) मा पनि उनले यही भूमिका दोहोर्याएका थिए । पाटेकरले हास्य–थ्रिलर चलचित्र ‘हाउसफुल–५’ मा समेत सहायक भूमिका निर्वाह गरेका थिए ।

सन् २०१० मा उनी राजनीतिक थ्रिलर ‘राजनीति’ मा देखिएका थिए । उक्त चलचित्रका लागि उनी उत्कृष्ट सहायक अभिनेतातर्फ पाँचौँ पटक फिल्मफेयर पुरस्कारका लागि मनोनयनमा परेका थिए ।

अभिनयबाहेक पाटेकरले पाश्र्व गायनमा समेत योगदान दिएका थिए । उनले ‘यशवन्त’ (१९९७), ‘वजूद’ (१९९८) र ‘आँच’ (२००३) लगायतका चलचित्रमा आफ्नो आवाज दिएका थिए । अभिनय, निर्देशन र रङ्गमञ्च गरी तीनै क्षेत्रमा सक्रिय नाना पाटेकरको चार दशकभन्दा लामो कलायात्रा उनको निधनसँगै टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij