चितवन । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि बागमती प्रदेश भूगोलतर्फ खुला समूहबाट चितवनका डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दिएका छन्। कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा थप सशक्त बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको घिमिरेले बताएका छन्।
जनमत संग्रहको समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय घिमिरे नेपाल विद्यार्थी संघको जिल्ला तहबाट राजनीतिक यात्रामा अघि बढेका हुन्। राजनीतिक आन्दोलनका क्रममा उनले पटक–पटक जेलजीवनसमेत बिताएका छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको संगठन र नेतृत्व तहसम्म पुगेको छ।
घिमिरे रामपुर कृषि विश्वविद्यालयका प्राध्यापक तथा पूर्व रजिस्ट्रार हुन्। शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी पार्टी राजनीतिमा समेत सक्रिय छन्। उनी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् भने यसअघि प्रदेशसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए।
शैक्षिक तथा बौद्धिक क्षेत्रमा सक्रिय घिमिरेले आफ्नो अनुभव र राजनीतिक पृष्ठभूमिलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने बताएका छन्। बदलिँदो राजनीतिक परिस्थितिअनुसार नेपाली कांग्रेसलाई विचार, नीति र संगठनका हिसाबले अझ प्रभावकारी र सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij