२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

तीजको मौलिक स्वाद बोकेको ‘नाच्ने आजै हो’ सार्वजनिक

तीजको मौलिक स्वाद बोकेको ‘नाच्ने आजै हो’ सार्वजनिक

टेक्सस । हरितालिका तीज नजिकिँदै जाँदा बजारमा तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको बेला गीतकार नेत्रबन्धु पोख्रेलको मौलिक तीज गीत ‘नाच्ने आजै हो’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजित लोकार्पण समारोहमा डा. ध्रुवराज भट्टराईको अध्यक्षता तथा संस्कृतिविद् प्रोफेसर डा. वीणा पौडेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सहसचिव सन्ध्या पहारी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा चलचित्र निर्देशक राजेन्द्र केसी र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलगायत साहित्य, कला, सञ्चार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन डा. विदुर वस्तीले गरेका थिए भने स्वागत मन्तव्य गीतकार नेत्रबन्धु पोख्रेलले व्यक्त गरेका थिए।

सार्वजनिक गरिएको गीतमा चर्चित गायिका मनमाया वाइवाको स्वर रहेको छ। गीतका शब्द नेत्रबन्धु पोख्रेलले रचना गरेका हुन् भने शेषनारायण पोख्रेलले संगीत दिएका छन्। एरेञ्ज तथा मिक्सिङ हेमराज डाँगीले गरेका छन्। सामूहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलको पनि सहभागिता रहेको छ।

गीतको भिडियो सुरज खनालको निर्देशन, नवीन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन तथा विनोद बमको सम्पादनमा तयार गरिएको हो। भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोख्रेल र डा. विदुर वस्तीको अभिनय रहेको छ भने बाल कलाकारका रूपमा सृष्टि पोख्रेल र आराभ पौडेलले अभिनय गरेका छन्।

निर्माता पक्षका अनुसार गीतले नेपाली समाजमा परम्परागत रूपमा मनाइँदै आएको हरितालिका तीजको मौलिक स्वरूपलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। आधुनिक तडकभडकभन्दा मौलिक संस्कृति, परम्परा र सामाजिक परिवेशलाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij