२०८३ भाद्र १० बुधबार

Aug 26 2026 Wednesday

२०८३ भाद्र १० बुधबार

भारतको केही जग्गा उपभोग गरेको भएपनि मिचिएको भन्न मिल्दैनः महन्थ ठाकुर

भारतको केही जग्गा उपभोग गरेको भएपनि मिचिएको भन्न मिल्दैनः महन्थ ठाकुर

काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । मंगलबारको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन साहले सीमाका सम्बन्धमा दिएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक सदनको कारबाही अगाडि बढाउन आग्रह गरेका थिए । उनले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गरेका थिए । तर सांसदहरूले असहमति प्रकट गरे ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो ।

त्यसअघि सांसद पदमबहादुर परियारले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा आएर कुन ठाउँमा कति भूमि मिचिएको हो भनी प्रमाणसहित जानकारी दिनुपर्ने माग गरे । त्यस्तै, सांसद घनश्याम रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाएका थिए ।

सांसद रोशनी मेचेले नेपालले अहिलेसम्म एक इन्च पनि सीमा नमिचेको जिकिर गरिन् । सांसद महन्त ठाकुरले भारतको केही जग्गा उपभोग गरेको भए पनि मिचिएको भन्न नमिल्ने बताए । सांसद तुलप्रसाद विश्वकर्माले ‘जमिन उपभोग गर्नु’ र ‘सीमा मिच्नु’ नितान्त फरक कुरा भएकाले यसबारेमा थप प्रष्ट पार्नुपर्ने बताए ।

लामो समयदेखि लिम्पियाधुरा र लिपुलेकमा भारतीय सेना राखेर नेपालको भूमि भारतीय पक्षले अतिक्रमण गरेको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा जटिलता आउने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij