२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दावी

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दावी

दोहा । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ अब पहिलेभन्दा ठूलो भएको र यसलाई एक विशाल सैन्य र परिचालन क्षेत्रको रूपमा पुनः परिभाषित गरिएको बताएको छ ।
आइआरजिसीले यो समुद्री मार्ग अब साँघुरो जलमार्ग मात्र नभएर करिब ५०० किलोमिटर लामो फराकिलो क्षेत्र बनेको दाबी गरेको छ, जुन इरानको नयाँ नौसैनिक रणनीतिको हिस्सा हो ।

“सीमित क्षेत्रको परिभाषा अब समाप्त भएको छ” आइआरजिसी नौसेनाको राजनीतिक विभागका उपप्रमुख आइआरजिसी मोहम्मद अकबरजादेहले तस्निम समाचार एजेन्सीसँग भने, “पहिले हर्मुज जलडमरूमध्य हर्मुज र हेङ्गम जस्ता साना टापुहरू वरपरको सीमित क्षेत्रको रूपमा हेरिन्थ्यो, तर अब यो सोच पूर्ण रूपमा परिवर्तन भएको छ।”

उनले भने, “यो क्षेत्र अब एक विशाल सैन्य कोरिडोर बनेको छ जुन जास्क र सिरिकदेखि केश्म टापु र ग्रेटर टम्बसम्म फैलिएको छ।”

आइआरजिसीको रिपोर्टअनुसार पहिले यो क्षेत्र २० देखि ३० माइल (करिब ५० किलोमिटर) क्षेत्रमा मात्र सीमित रहेको मानिएको थियो, तर अहिले २०० देखि ३०० माइल (करिब ५०० किलोमिटर) सम्म विस्तार गरिएको छ । यो विस्तारलाई अर्धचन्द्राकार रणनीतिक संरचनाको रूपमा वर्णन गरिएको छ, जसले इरानको समुद्री निगरानीलाई अझ बलियो बनाउँछ।

अकबरजादेहले इरानले आफ्नो समुद्री सीमा र हितलाई नजिकबाट नियालिरहेको र कुनै पनि प्रकारको घुसपैठ नसहने बताए ।
उनले कडा प्रतिक्रिया दिँदै भने, “हाम्रो एक इन्च जमिन जोगाउन हामी रगत बगाउँनेछौँ, तर हामी यसलाई छोड्ने छैनौँ ।
आइआरजिसीले भनेको छ, “नयाँ नियमहरू अब स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा लागू हुनेछन्। इरानले तोकेको बाटो मात्र सुरक्षित मानिनेछ । नियम उल्लङ्घन गर्ने पानीजहाजलाई कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।”

क्षेत्रीय तनावका बीच इरानको अडान यस्तो समयमा आएको छ जब मध्यपूर्वमा तनाव निकै उच्च छ । इरानले हालै अमेरिका र इजरायलको नीतिलाई गैरकानुनी सैन्य कारबाही भनेको छ । इरानले मार्चदेखि ‘शत्रु’ को जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमा प्रतिबन्धको घोषणा गरेको छ। इरानले अमेरिकाको यी कदमलाई ‘समुद्री डकैती’ को संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij