२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

महेन्द्रनगर। पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको असहजताका कारण सुदूरपश्चिमका गौरवका र ठूला विकास आयोजना प्रभावित भएका छन् । निर्माण व्यवसायीले मौज्दात रहेको इन्धन सकिएको र नयाँ खरिद गर्दा लागत धान्न नसक्ने बताएपछि आयोजनाको काम सुस्त भएको हो ।

सेती राजमार्गको दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना) को काम अहिले बन्द हुने अवस्थामा पुगेको छ । आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण व्यवसायीसँग भएको इन्धन सकिएपछि ट्रयाक खोल्न प्रयोग गरिएका भारी उपकरणहरू थन्किएका छन् ।

“निर्माण व्यवसायीसँग भएको मौज्दात सकियो, अब काम रोकिने अवस्था छ,” उनले भने, “महँगो मूल्य तिर्दा पनि इन्धन र बिटुमिन पाउन गाह्रो छ ।” २०७४ बाट सुरु भएको २०४ किलोमिटर लामो यस आयोजनामा ३५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा विनियोजित २५ करोड बजेटबाट सात किलोमिटर कालोपत्रे भए पनि बिटुमिन अभावले थप काम अघि बढ्न सकेको छैन ।

महाकाली सिँचाइमा पनि असर

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण पनि मूल्यवृद्धिको चपेटामा परेको छ । मूल नहर निर्माणका लागि ७ वटा प्याकेजमा ठेक्का भएर काम भइरहे पनि निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिएका छन् ।

आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार इन्धनसँगै तारजालीको मूल्य बढेपछि नदी नियन्त्रणको काम समेत रोकिएको छ । “नदी नियन्त्रणको काम नहुँदा बर्सातमा जोखिम बढ्ने डर छ,” उनले भने ।

महाकाली करिडोरको काम प्रभावित

कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने ४२५ किलोमिटर लामो महाकाली करिडोरको काम पनि प्रभावित भएको छ । १३ वटा प्याकेजमा काम भइरहेको यस करिडोरमा इन्धन र बिटुमिनको मूल्य बढेपछि व्यवसायीहरूले काम अघि बढाउन रुचि देखाएका छैनन् ।

योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला खण्डमा निर्माणको काम सुस्त भएको छ । दार्चुलाको ७९ किलोमिटर खण्डमा भने नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ ।

निर्माण ‘होलिडे’को तयारी

निर्माण व्यवसायीहरूले सरकारसँग मूल्य समायोजनको माग गरेका छन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण उद्योगमा ‘आपत्काल’ घोषणा गर्नुपर्ने अवस्था आएको बताए ।

“व्यवसायीले घरखेत बेचेर काम गर्नुपर्ने स्थिति छ,” उनले भने, “बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण कञ्चनपुरका ६०० बढी व्यवसायीहरू ‘निर्माण होलिडे’ (काम ठप्प पार्ने) को तयारीमा छन् ।” मूल्य समायोजन नभएसम्म काम अघि बढाउन प्राविधिक र आर्थिक रूपमा असम्भव रहेको व्यवसायीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij