काठमाडौं । नेपाललाई युरोपसँग प्रत्यक्ष हवाई उडानमार्फत जोड्ने लक्ष्यसहित अघि बढिरहेको हिमालय जेटले देशमा देखिएको नयाँ राजनीतिक स्थिरता र सकारात्मक वातावरणले आफ्नो योजना अघि बढाउन अनुकूल परिस्थिति सिर्जना भएको जनाएको छ।
हिमालय जेटका अध्यक्ष दिपेन्द्र गुरुङले सन्देश जारी गर्दै कम्पनीले नेपाललाई बेलायत, युरोप र अष्ट्रेलियासँग प्रत्यक्ष उडानमार्फत जोड्ने ऐतिहासिक पहल अघि बढाइरहेको उल्लेख गरेका छन्। विभिन्न कारणले यसअघि ढिलाइ भएको उक्त योजना अब नयाँ स्थिर सरकार गठन हुने परिस्थितिसँगै तीव्र गतिमा अगाडि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ।
उनका अनुसार सन् २०१३ देखि नेपाली एयरलाइन्सहरू युरोपियन युनियनको Air Safety List मा समावेश भएका कारण युरोपतर्फ प्रत्यक्ष उडान सञ्चालन गर्न सकेका छैनन्। यसले गर्दा विशेषगरी संयुक्त अधिराज्य (UK) लगायत युरोपबाट नेपाल आउने यात्रुहरूले पटक–पटक ट्रान्जिट गर्नुपर्दा करिब १७ घण्टासम्म लामो र थकाइपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। हिमालहरूको देश, भगवान बुद्धको जन्मभूमि र अद्वितीय प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालले आफ्नो वास्तविक सम्भावनालाई विश्वसँग पूर्ण रूपमा बाँड्न नसकेको अवस्था दुःखद रहेको उनले बताएका छन्।
अध्यक्ष गुरुङले नयाँ सरकारलाई “Visit Nepal 2028” नामक राष्ट्रिय पर्यटन अभियान सुरु गर्न पनि प्रस्ताव गरेका छन्। यस अभियानमार्फत नेपालको संस्कृति, सम्पदा र हिमालयलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुने उनको विश्वास छ।
गुरुङका अनुसार लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड, लिस्बन, सिड्नी, मेलबर्न र पर्थसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भए वार्षिक करिब १० लाख यात्रु नेपाल आउन सक्ने अनुमान गरिएको छ, जसमा ५ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक हुनेछन्। प्रत्यक्ष उडान सुरु भए लण्डन–काठमाडौं यात्रा करिब ९ घण्टा ४५ मिनेटमा र युरोप–काठमाडौं यात्रा करिब ८ घण्टा ४५ मिनेटमै सम्भव हुने उनको भनाइ छ।
उनले यो पहलले नेपालको पर्यटन तथा उड्डयन क्षेत्रमा रूपान्तरणकारी आर्थिक प्रभाव पार्न सक्ने बताएका छन्। होटल तथा रिसोर्टमा लगानी, ट्रेकिङ तथा साहसिक पर्यटन, उड्डयन र विमानस्थल विकास, आतिथ्य सेवा, हस्तकला, खुद्रा व्यापार, ग्रामीण पर्यटन तथा हवाई कार्गो जस्ता क्षेत्रमा विस्तार हुँदै पर्यटनले दीर्घकालमा नेपालको GDP मा २५–३० प्रतिशतसम्म योगदान दिन सक्ने अनुमान गरिएको छ। यसबाट १ लाखभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
त्यसैगरी विश्वभर रहेका नेपालीहरूलाई सहज रूपमा मातृभूमिसँग जोड्ने उद्देश्यले CSR पहलअन्तर्गत FNPL (Fly Now Pay Later) टिकटिङ सुविधा सुरु गर्ने योजना पनि रहेको गुरुङले उल्लेख गरेका छन्। जिम्मेवार हवाई सम्पर्कमार्फत हिमालय जेटले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू—SDG 8, SDG 9, SDG 12, SDG 13 र SDG 17—लाई समर्थन गर्दै हिमालयप्रति विश्वको ध्यान पुनः केन्द्रित गर्ने नयाँ अध्याय सुरु गर्ने लक्ष्य राखेको उनले बताएका छन्। यसरी हिमालय जेट नेपालका लागि पर्यटन, उड्डयन सम्पर्क र राष्ट्रिय समृद्धिको महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गुरुङले व्यक्त गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij