२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब २५ हजार मेट्रिकटन मल आयात गर्ने भएको छ । चालु आर्थिक वर्षमा चार लाख ६६ हजार मेट्रिकटन मल साल्टट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीमार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो ।

गत वर्षको तुलनामा अन्तरराष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष ५९ हजार मेट्रिकटन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको २८ अर्ब ८२ करोडको बजेटबाट चालु आवमा चार लाख ९१ हजार मेट्रिकटन मल आयातमा हुने मन्त्रालयले जनाएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ ।

मन्त्रालयले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेकामा बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजी गरेको थियो । वैकल्पिक स्रोतबाट पनि रकम जुटाउन सकिएको थिएन ।

केही स्थानमा मात्र चैते धानखेती हुने भएकाले सो मल आयात भएपछि किसानलाई उपलब्ध गराउन समस्या नहुने उनले जानकारी दिए । पछिल्लो समय आह्वान गरिएको बोलपत्रअनुसार मल आयात भएपछि चालु आवमा चार लाख ९१ हजार मल वितरण किसानलाई गर्न सकिन्छ । देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब ७० प्रतिशत हिस्सा र साल्टट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरका माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ । अन्तर्राष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ) मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ ।

विसं २०७८ को कृषिगणनाअनुसार कृषक परिवारमध्ये ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij