२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

फागुपूर्णिमाले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल

फागुपूर्णिमाले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्ध‍न गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij