२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको प्रलोभनमा परेर विदेशमा अलपत्र परेका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि सफल उद्धार भएको छ। सर्बियाबाट अवैध बाटो हुँदै इटली जाने क्रममा गत कात्तिक २५ गते डुङ्गा दुर्घटनामा परेर घाइते र अलपत्र बनेका विक हालै स्वदेश फर्किएका हुन्। यद्यपि, सोही दुर्घटनामा बेपत्ता भएका बेनी नगरपालिका–९ का बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात छ।

जिल्ला प्रशासन कार्यालयको आप्रवासी स्रोत केन्द्र, परराष्ट्र मन्त्रालय र जर्मनीमा रहेको नेपाली दूतावासको समन्वयमा विकको उद्धार सम्भव भएको हो। “सर्बियामा काम र दाम नपाएपछि १३ जना नेपाली लुकिछिपी इटली जान लाग्दा डुङ्गा पल्टियो, प्रहरीले उद्धार त गर्‍यो तर कागजात नहुँदा अलपत्र परेको थिएँ,” विकले आफ्नो पीडा सुनाउँदै भने, “घर फर्कन पाउँदा नयाँ जीवन पाएको महसुस भएको छ।” चिसो पानीमा डुबेका कारण उनको स्वास्थ्यमा अझै समस्या छ।

भुवन विक घर फर्किए पनि उनीसँगै रहेका बिष्णे सार्कीको कुनै अत्तोपत्तो छैन। बिष्णेका भाइ दिलगोपालले दुर्घटना भएको दिनदेखि नै दाजु सम्पर्कविहीन भएको र अहिलेसम्म कुनै ठोस जानकारी नआउँदा परिवार निराश बनेको बताए। उनी कतै अस्पतालमा उपचाररत वा प्रहरीको नियन्त्रणमा हुन सक्ने आशामा परिवारले खोजीका लागि आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन्।

प्रतिव्यक्ति ११ लाख रुपैयाँ बुझाएर सर्बिया पुगेका म्याग्दीका अन्य तीन युवा पनि भनेजस्तो काम नपाएपछि यसअघि नै घर फर्किसकेका छन्। अवैध बाटोबाट युरोप छिर्न खोज्दा नेपाली युवाहरू कसरी ठगी र जोखिमपूर्ण यात्राको सिकार भइरहेका छन् भन्ने यो घटनाले पुनः पुष्टि गरेको छ। आप्रवासी स्रोत केन्द्रले बेपत्ता सार्कीको खोजीका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij