२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

नेता कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कांग्रेसको निर्देशन

नेता कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचना, नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न निर्देशन दिएको छ ।

पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमार्फत कांग्रेसले निर्वाचनलाई पार्टीको भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा लिएको जनाएको छ ।

परिपत्रमा कांग्रेस विधानअनुसार पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै पार्टीले नयाँ जोश, जाँगर र आत्मविश्वासका साथ निर्वाचनमा होमिनुपर्ने उल्लेख गरिएको छ । परिपत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न सबै तहका संगठन सक्रिय हुन आग्रह गरिएको छ ।

पार्टीले विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत वा असहमत सबै कांग्रेसजनलाई लोकतान्त्रिक प्रक्रियालाई सहज बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ । कांग्रेस कुनै व्यक्ति वा सीमित समूहको मात्र नभई आम नागरिकको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै आन्तरिक आलोचना, आत्मसमीक्षा र सुधारमार्फत पार्टी परिवर्तनको बाटोमा अघि बढेको दाबी गरिएको छ ।

साथै, विभिन्न कारणले पार्टीबाट टाढा रहेका, निष्क्रिय भएका तथा देश–विदेशमा रहेका कांग्रेस समर्थकलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij