काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टी विभाजन रोक्न सबैले अन्तिमसम्म प्रयास गर्नुपर्ने बताएका छन् । देशभरका कांग्रेस महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा उपस्थित भएर विशेष महाधिवेशन आयोजना गरेर पार्टीभित्र सुधारको माग गर्नु सकरात्मक भएको भन्दै उनले पार्टी विभाजनको अवस्था भने आउन नहुने बताए ।
आफूले विशेष महाधिवेशनको उद्घाटन समारोहमा गएर सुधार र रुपान्तरणसँगै पार्टी एकताको समेत पक्षपोषण गरेको भन्दै शर्माले पार्टीभित्र सहमति निर्माण गर्न आफू सक्रिय रहेको बताए । ‘सहमतिबाट निकास सम्भव छ । मैले सबै पक्षसँग भेटेर सहमतिका लागि पहल गरेको छु । सबैले हठ छाड्ने हो भने सहमति धेरै टाढा पनि छैन’, शर्माले समाजप्रेससँग भने ।
उनले विशेष महाधिवेशनको उद्घाटनमा आफू सहभागि भएपनि नेतृत्व चयन प्रक्रियामा भने सहभागि नहुने बताए । ‘महामन्त्री बन्नुस, उपसभापति बन्नुस भन्ने साथीहरु हुनुहुन्छ । उहाँहरुले माया गरेर भन्नुभएको हो तर कांग्रेसको एकता महाधिवेशनबाट मात्रै म पद लिन्छु । एक पक्ष उपस्थित नभएको महाधिवेशनबाट जुनसुकै पद पाएपनि म तयार हुन सक्दिन’, शर्माले भने । उनले चारतारे झण्डा र रुखविहीन कांग्रेसको आफूले परिकल्पना नगरेको भन्दै सहमतिका लागि अन्तिमसम्म प्रयास गर्ने बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij