एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि उच्चस्तरको सैन्य आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई कब्जामा लिएको घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको पुष्टि गर्दै उनीहरूलाई समातेर भेनेजुएला बाहिर लगिएको जानकारी दिए। अमेरिकी कानुन कार्यान्वयन निकायहरूसँगको समन्वयमा यो अप्रेसन सफलतापूर्वक सम्पन्न भएको ट्रम्पको भनाइ छ। यसबारे थप विस्तृत विवरण सार्वजनिक गर्न उनले फ्लोरिडास्थित मार–ए–लागोमा स्थानीय समय अनुसार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन्।
यता भेनेजुएला सरकारले भने देशमा ‘राष्ट्रिय संकटकालु घोषणा गर्दै अमेरिकाको यस कदमलाई सैन्य आक्रमण को संज्ञा दिएको छ। राजधानी काराकासमा ठुलो विष्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा धुवाँको मुस्लो देखिएको छ। एक प्रत्यक्षदर्शीले विष्फोटको समयमा जमिन थर्किएको र अवस्था निकै डरलाग्दो रहेको बताइएको छ।
पछिल्ला केही हप्तादेखि अमेरिका र भेनेजुएलाबीच तनाव उत्कर्षमा पुगेको थियो। राष्ट्रपति ट्रम्पले मादुरोमाथि दबाब बढाउँदै लगेका थिए। अमेरिकाले लामो समयदेखि मादुरोलाई अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसार गिरोहको नेतृत्व गरेको आरोप लगाउँदै आएको छ, जसलाई मादुरोले सधैँ अस्वीकार गर्दै आएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij