२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

१४ वर्षपछि कमला पुल निर्माणले गति लियो, चैतभित्र सञ्चालनको लक्ष्य

१४ वर्षपछि कमला पुल निर्माणले गति लियो, चैतभित्र सञ्चालनको लक्ष्य

काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदीमाथिको बहुचर्चित कमला पुलको बाँकी काम तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण व्यवसायीले आगामी चैतभित्र पुल निर्माण पूरा गरी यातायात सञ्चालन गर्ने कार्यतालिकासहित कामलाई धमाधम अगाडि बढाएका हुन्। निर्माण व्यवसायीले नै डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको यस पुलको लम्बाइ ४६९ मिटर रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गर्दै पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए। उनले निर्माणको नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनीसमेत दिएका थिए। साथै हाल नदी बगिरहेको स्थानमा ह्युम पाइप राखी अस्थायी आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए, जसअनुसार पाइप राख्ने काम भइरहेको छ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुगिसक्दा पनि पुल निर्माण पूरा नहुँदा स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन्। सवारीसाधन लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने र कमला नदी वारपार गर्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

२०७८ असार १७ गते कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिएर चारवटा स्लावमा क्षति पुगेको थियो। क्षति भएका स्लावमध्ये सिराहा (पूर्व)तर्फका दुईवटा स्लाव हटाइएका छन् भने धनुषा (पश्चिम)तर्फका दुईवटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनले देखाएको छ। भासिएको जगलाई मजबुत बनाएर स्लाव लिफ्टिङको काम अब सुरु गरिने तयारी छ, जसका लागि विज्ञ प्राविधिकहरूले अध्ययन गरी कार्ययोजना बनाइरहेका छन्।

पुलको पूर्वतर्फ (सिराहा) सबस्ट्रक्चरको काम सकिएको छ। सिराहातर्फ हटाइएका दुई स्लाव र भासिएको एक जगको स्थानमा दुईवटा नयाँ जग राखेर सबस्ट्रक्चरको काम सम्पन्न गरिएको छ। अब प्लेट गडर जडान गर्न बाँकी छ, जसको निर्माण कार्य चितवनमा भइरहेको छ। गडर तयार भएपछि पुलमा ल्याएर जडान गरिनेछ।

ठेक्काअन्तर्गत नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने अझै सुरु हुन सकेको छैन। गत असोजमा आएको बाढीपछि कमला नदीको धार परिवर्तन भएकाले डिजाइनबारे छलफल भइरहेको र डिजाइन टुंगो लागेपछि मात्र निर्माण सुरु हुने बताइएको छ।

तराई–मधेसको लाइफलाइनका रूपमा चिनिने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक सम्झौताअनुसार पुल २०७१ मंसिरमा सम्पन्न हुनुपर्ने भए पनि निर्माण हुन नसक्दा सात पटकसम्म म्याद थपिएको थियो, जसको अन्तिम म्याद गत असारमा सकिएको थियो।

निर्माण व्यवसायीले आगामी असारसम्मका लागि पुनः म्याद थपको प्रस्ताव पेस गरेको छ र हाल म्याद थप प्रक्रियामा रहेको छ। हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ भने अहिलेसम्म २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij