२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो। गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात १३७.९ प्रतिशत र अन्य तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशत बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका उत्पादन, अलैंची, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ। त्यसैगरी जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनालगायतका वस्तुको निर्यात भने घटेको देखिएको छ।

यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो। मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ।

वस्तु आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायात उपकरण, मोटर सवारी तथा स्पेयर पाट्र्स, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन र पेट्रोलियम पदार्थको आयात घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij