अष्टिनमा दुर्गेश थापाको धमाकेदार प्रस्तुति सम्पन्न अष्टिन, टेक्सास । लोकप्रिय गायक तथा स्टेज पर्फमर दुर्गेश थापाले अष्टिनमा आफ्नो पहिलो अमेरिकी लाइभ प्रस्तुतिबाट दर्शकलाई झुमाएका छन्।
१७ अक्टोबर, शुक्रबार साँझ एगेभ क्लब (Agave Club, 13422 Dessau Rd, Austin, TX 78754) मा सम्पन्न कार्यक्रममा दर्शकहरूको उत्साह र सहभागिता अत्यन्तै उच्च देखिएको थियो। कार्यक्रम साँझ ७ बजे ढोका खुल्नासाथ दर्शकहरूको भीडले सम्पूर्ण हल भरिएको थियो।राति ८ बजे सुरु भएको लाइभ प्रस्तुतिमा दुर्गेश थापाले दुश्मन हेरेको हेरेई, जाने भए जाम माया, पहिलो माया लगायत आफ्ना लोकप्रिय हिट गीतहरू प्रस्तुत गर्दा उपस्थित सबै दर्शक नाचे, गाए र साथमा गुनगुनाएका थिए। सांगीतिक माहोल यति उत्साहजनक थियो कि अष्टिनवासी नेपाली समुदायका सदस्यहरूले यो साँझलाई अविस्मरणीय सांगीतिक क्षणको रूपमा वर्णन गरेका छन्। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिएको थियो, जसले माहोललाई अझ रंगीन बनायो।
यो प्रस्तुति दुर्गेश थापाको अमेरिकी सांगीतिक यात्राको पहिलो अध्याय थियो। अब उनी न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका सहरहरूमा पनि लाइभ शो प्रस्तुत गर्नेछन्,र अन्तिम कार्यक्रम नोभेम्बर २२ मा डल्लास, टेक्सासमा सम्पन्न हुनेछ। अष्टिनको यो कार्यक्रम North Austin Nepali Society (NANS) को प्रस्तुतिमा आयोजना गरिएको थियो।
आयोजक टिमका अनुसार, दर्शकहरूको उत्साह र सहभागिताले कार्यक्रममा सफलता दिलाएको छ,र यसलाई अष्टिनको सबैभन्दा सफल र चर्चित सांगीतिक साँझको रूपमा स्मरण गरिने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij