२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

‘एक वडा, एक उत्पादन’ नीतिलाई काठमाडौँ महानगरले दियो निरन्तरता

‘एक वडा, एक उत्पादन’ नीतिलाई काठमाडौँ महानगरले दियो निरन्तरता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नव प्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभा समक्ष प्रस्तुत गरेका हुन् ।

मेयर शाहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीति र सम्पन्न हुँन बाँकी योजना तथा कार्यक्रमलाई निरन्तरता दिइने, आवधिक, रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइने जनाएका छन् । स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरणलाई प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ, एक वडा, एक उत्पादन नीतिलाई प्राथमिकता दिएको मेयर शाहले जानकारी गराएका छन् ।

बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गरिने महानगरले जनाएको छ । बालबालिकाको स्वास्थ, पोषण र प्रारम्भिक सिकाइको वातावरण सुनिश्चित गर्दै पोषणयुक्त आहाराको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री पूर्वाधार निर्माण तथा अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने मेयर शाहको भनाइ छ ।

‘नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताएका छन् । आइतबार बसेको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशिलता आवश्यक हुन्छ,’ मेयर शाहले भनेका छन् ।

उनले यसअघि प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन पनि गरे । ‘महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ मेयर शाहले भनेका छन् । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट आज प्रस्तुत हुनेछ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij