काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिर पर लगेर १५ औँ महाधिवेशन हुन नसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लान नहुने बताए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए ।
‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्याई कन सकेसम्म छिटो हामीले गर्यौँ भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ ।’
पार्टीमा कोही महाधिवेशनको पक्षधर र कोही पक्षमा नभएको जस्तो गरी नेताहरूले प्रचार गर्ने गरेको भन्दै आपत्ति जनाए । ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौँ,’ थापाले भने ।
विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको पोको खोल्ने गरिएको उल्लेख गर्दै यसपटक विधान अनुसार काम गरिएको उनले बताए ।
थापाले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहँदा नेताहरुले आफ्नो क्षेत्रको अवस्था के छ भनी ख्याल गर्न आग्रह गरे । थापाले आफ्नो क्षेत्र (काठमाडौँ-४) ले नवीकरण गरेर केही महिना अघि नै सकेको उदाहरण प्रस्तुत गरे ।
‘पार्टीका नेताहरूलाई मैले अनुरोध गर्न खोजेको, कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता रिन्यु नहुने कुराको सन्दर्भमा अलिकति बढी त्यहाँ काम गर्दिनुपर्ने छ,’ नेताहरूलाई थापाले आग्रह गरे ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने बताए । नवीकरण कति भयो र मतदाता, मतदान कति प्राप्त भयो त्यस आधारमा नयाँ सदस्यताको फर्म जिल्लालाई दिने बताउँदै उनले भने, ‘उदाहरणका रूपमा सबभन्दा बढी रिन्यु भएको चितवन थियो । अब हामीले संघीय निर्वाचनको परिणामहरू राखेर पनि यसलाई यसरी हेर्न पनि सक्छौँ ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij