२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

काठमाडौँ । मधेश प्रदेश सरकारले ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् ।

उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

 

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो, तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ ।

मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरूप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको मूल्यांकन र अनुगमनपश्चात् निरन्तरता दिइने उल्लेख गरिन् ।

सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ । कृषिलाई मेरुदण्डको रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ ।

मधेश सरकारले मखान खेतीलाई पनि प्राथमिकतामा राखेको छ । आगामी आवको नीति तथा कार्यक्रममार्फत ‘मधेशको सान, स्थानीय मखान’ नारा दिँदै मखान खेतीको विकास र विस्तार योजना ल्याएको छ । मखानको उत्पादन, प्रशोधन, लेवलिङ र ब्रान्डिङ गर्ने लक्ष्य लिइएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरेकी छन् ।

यस्तै सरकारले नीति तथा कार्यक्रममा आँपको बगैँचा, मधेशको समृद्धि नारालाई आत्मसात गर्दै मधेशका आठ वटै जिल्लामा आँप बगैँचा विस्तारको योजना पनि समेटेको छ ।

मधेशलाई सिँचाइमा आत्मनिर्भर बनाउन ‘खेतखेतमा पानी, घरघरमा खाद्यान्न’ नारा दिएको छ । ‘हर हातमे सीप, घरघरमे रोजगार, समृद्ध मधेशके आधार’अन्तर्गत पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij