२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रजातन्त्र सेनानीमाझ शेखरले भने – जे हुन्छ १५ औं महाधिवेशनपछि हुन्छ

प्रजातन्त्र सेनानीमाझ शेखरले भने – जे हुन्छ १५ औं महाधिवेशनपछि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलतलाई गलत भन्न नसक्नेहरु दाससरह हुने बताएका छन् । प्रजातन्त्र सेनानी संघको बागमती प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गलतलाई गलत भन्न नसक्नेहरु वीपीको अनुयायी बन्न नसक्ने बताए ।

राजनीतिमा नैतिकता सबैभन्दा महत्वपूर्ण हुने भन्दै नेता कोइरालाले नैतिकता नहुनेले राजनीति नै नगरे हुने उल्लेख गरे । ‘राजनीतिमा नैतिकता सबैभन्दा महत्वपूर्ण हो । नैतिकता नहुनेले राजनीति नगरे हुन्छ । गलत काम हामी नगरौं, सही काम गर्न नसक्ने हो भने चुप लागेर घरै बसौं’, कोइरालाले भने ।
उनले पार्टी सरकारमा भएकै कारणले गलतलाई सही भन्न आफूले नसक्ने बताए ।

‘दिनानुदिन भ्रष्टाचारले अप्ठ्यारो हामीलाई नपारोस् । दण्डहीनताले अप्ठ्यारो नपरोस् । सुशासन दिन सकौं । हामीले हाम्रो आचरण बदलौं । कसैलाई आक्षेप लगाएर, आरोपित गर्ने मेरो उद्देश्य होइन । हामीले गलतलाई गलत भन्न किन सकेका छैनौं ? कांग्रेस सरकारमा छ भन्दैमा गलतलाई सही भन्न सकिदैन । असललाई असल, खराबलाई खराब भन्न सक्नुपर्छ । गलतलाई गलत नभन्ने हो भने हामी वीपीका अनुयायी हैनौं । हामी वीपीका कार्यकर्ता रहदैनौं । गलतलाई टुलुटुलु हेर्ने हो भने हामी कांग्रेस होइन, दास बन्छौं’, कोइरालाले भने ।

उनले पार्टीभित्र आफूले धेरै सहेर बसेको भन्दै सहनशीलतालाई कमजोर ठान्न नहुने बताए । ‘कांग्रेसमा के भइरहेछ तपाईहरुलाई थाहा छ । मैले सहेर बसेको छु । सहनैपर्छ । राजनीतिमा सहनशीलता छ । अहिले धेरै सुधार्न नसकिएला तर यति भन्छु जे हुन्छ १५ औं महाधिवेशनपछि हुन्छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij