काठमाडौँ । उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरेका छन् । उनी १६औं संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे ।
धर्मश्रीमा दुई पटक उपाधी चुम्ने राई तेश्रो खेलाडी हुन् । यस अघि नरेश महर्जन र सानु गुरुङ्गले दुई पटक उपाधी जितेका थिए ।
नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश पाएका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij