काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ।
एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर उनलाई घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो।
‘मानव तस्करी जस्तो गंभिर आरोपका सम्बन्धमा शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गंभिरतापुर्वक ध्यानाकर्षण गराउदै माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भनेका छन्।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ। उनले पदबाट राजीनामा दिइसकेका छन्। उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij