काठमाडौँ । यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ । सम्मेलनको पूर्व सन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र आवश्यक तयारी गर्न मन्त्रालयका तीन सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक साता अघि नै बाकु पुगिसकेका छन् ।
सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले ‘एजेण्डा’को प्राथमिकता निर्धारण गरेको छ । सम्मेलनमा मुख्यतया अनुकूलन हानी नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए ।
मन्त्रालयले यस अघिका सम्मेलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाएका विषयहरु, संसदीय समितिवाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालाहरुसँग गरेका छलफल तथा प्राप्त सुझावका आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि तथा नोेक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij