२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

अनुमति विना निजी टेलिफोन संवाद बाहिर ल्याउनेमाथि कानुनी कारबाहीमा जान्छुः उपसभापति अर्याल

अनुमति विना निजी टेलिफोन संवाद बाहिर ल्याउनेमाथि कानुनी कारबाहीमा जान्छुः उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अनुमति विना आफ्नो निजी टेलिफोन संवाद विना अनुमति बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

सामाजिक संजालमार्फत अर्यालले जासुसी तरिकाले बदनियतका साथ संवाद बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के–के संवाद गरे र गर्दैछु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैर–कानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु। बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध–संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ।’

उनले सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ। सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढङ्गबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु।’

सभापति लामिछाने पक्राउ परेपछि उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । उनले परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको भन्दै सामाजिक सञ्जालमा उनले आलोचना भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij