२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेका बाबुरामको जिकिर

बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेका बाबुरामको जिकिर

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताएका छन् ।

नेसपाको सोमबारदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उनले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताएका हुन् ।

उनले भने, ‘फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।’

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिए ।

‘देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकताबद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरुलाई  देशभित्रनै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरुबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ ।’ भट्टराईले भने  ।

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उनले स्पष्ट पारे ।

‘पाँच  सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकिल्पक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ,’ उनले भने ।

भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गरे । उनले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच  बलियो एकता निर्माण गर्नु आवश्यक रहेको बताए ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गरेका थिए ।

प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिए । उनका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ ।

अधिवेशनले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व प्रणाली र  सिद्धान्त लगायतका विषयहरु टुङ्गो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन, मिति र स्थानको घोषणा गर्ने बताइन्छ ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा (माओवादी) परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गरेका थिए ।

त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij