२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् ।

शुक्रबार बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको धारणा छ । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष–विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’ प्रचण्डले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।’

२०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अमेरिका, चीनलगायत १३० भन्दा धेरै देशले समर्थन गरे पनि सिक्किमलाई गाभेको भारतले अस्वीकार गरेको थियो । उक्त प्रस्ताव हाल नेपालले बोक्न छाडिसकेको छ ।

दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको अध्यक्षता गठित शान्ति क्षेत्र अभियानले पुनः यसलाई अघि बढाउन पहल गर्दै आएकको छ ।

माओवादी केन्द्रका धेरै नेताहरुले शान्ति क्षेत्रको प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहेको जानकारी दिँदै प्रचण्डले आफू पनि यसमा खुला छलफल गर्ने पक्षमा रहेको बताए । ‘हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं,’ प्रचण्डले भने ।

आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने जानकारी उनले दिए ।

अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताए । उनले यो अभियानलाई आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा नेतृत्वको अभियानले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा शान्ति क्षेत्रको आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए ।

दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij