भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो । केही सेकेण्डमै खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गर्यो । प्रहरी नियन्त्रणबाटै आक्रमणकारीले नाराबाजी गरिरहेका थिए । घटनास्थलका फुटेजहरु हेर्दा प्रहरीले नै आक्रमणको चाँजोपाँजो मिलाएको हो कि भन्नेसम्म शंका गर्ने आधार भेटिन्छ । यद्यपि कांग्रेस संयमित छ । उसलाई खासै फरक पर्दैन । फरक पर्यो भन्ने गठबन्धन बिग्रन्छ । गठबन्धन बिग्रदा सरकार बिग्रन्छ । सत्ता बिग्रदा प्रचण्डको शासन होइन, देउवाको आसन बिग्रन्छ ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका महेन्द्र यादवले केही दिनअघि ४ सय तरुण नेताहरुका लागि चियापानको आयोजना गरेका थिए । उनीविरुद्ध आक्रमणपछि सडकमा ४० जना तरुणको नाराबाजी देख्न पाइएन । घटनापछि तरुण दलले जम्मा २ वटा विज्ञप्ती निकाल्यो । पहिलो विज्ञप्तीको भाषा नरम भएको सुझावपछि तरुण दलले कडा विज्ञप्ति निकाल्यो । यसपछि तरुणको काम सकियो । कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमा कडा प्रतिवाद गरे । महामन्त्रीले सदनमै उभिएर सरकारलाई प्रश्न गरे । र पनि कांग्रेस संयमित छ । किनकी कांग्रेस गठबन्धनमा छ । गठबन्धन बिग्रदा सरकार बिग्रन्छ । सत्ता बिग्रदा प्रचण्डको शासन होइन, देउवाको आसन बिग्रन्छ ।
नक्कली भुटानी शरणर्थाी प्रकरणमा नाम मात्रै पोलेको भरमा कांग्रेसका प्रभावशाली मानिने नेता यतिबेला जेलमा छन् । जेलमा उनलाई भेट्न जाने नेताहरुको ताँती छ । उही शरणार्थी काण्ड र सुनकाण्ड समेतमा नाम मुछिएका माओवादी नेताहरु खुलेआम छन् । ललिता निवास प्रकरणमा देउवाका सारथी विजय गच्छदारविरुद्ध मुद्धा चल्यो तर माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोगाइए । किनकी कांग्रेस गठबन्धनमा छ । गच्छदारले प्रचण्डको शासन बिगार्न सक्दैनन्, देउवाको आसन बिगार्न सक्दैनन् । त्यसैले कांग्रेस संयमित छ ।
धुलो मुहारमा थियो म ऐना पुछिरहे भन्नेहरु कांग्रेस पार्टी कार्यालयमा रंग धसिरहेछन् । देउवा पालो कुरेर बसिरेछन् । कांग्रेस महोत्सवमा छ । सत्ताले बिगारेको नदेख्ने दोषी चस्मा भिरेको छ । “सुम्निमा” नपढेका वीपीका अनुयायीहरु पूर्वी पहाडमा जातीय द्वेष बढीरहँदा कविता पढिरहेछन्, गजल गाइरहेछन् । किनकी कांग्रेस गठबन्धनमा छ ।
यतिबेला नेपाली कांग्रेस सर्वत्र सक्रिय देखिन्छ । अनुभवी सभापति र जोशिला महामन्त्रीहरुले सरकारमा पनि कांग्रेस, सदनमा पनि कांग्रेस, सडकमा पनि कांग्रेस, चुटिने पनि कांग्रेस, चुटाउने पनि कांग्रेस, समात्ने पनि कांग्रेस छुटाउने पनि कांग्रेसको स्थिति बनाउन सफल भएका छन् । ७ सयको नेविसंघ बन्दा तरुण दल जम्मा ४ सयको बन्यो भनेर तरुणहरु निराश छन् । ५२ जनाको महिला संघ जम्मा दुइ टुक्रा भएको छ । किसानकी छोरी कृषि समितिमा पुगेदेखि गोलभेडाको भाउ तर्सिएरै घट्लाझै भइसकेको छ ।
अझै केही थान मन्त्री बनाउनु छ । बदल्नु छ । त्यतिन्जेल कांग्रेसले चिम्लनैपर्नेछ आँखा । गाउनै पर्नेछ माओवादी सत्ताको भाका । ज्योतिषलाई सफल र कांग्रेसलाई असफल नबनाएसम्म विश्राम नलिने दाजुले भर्खर त भाउजुलाई सिगाँदै हुनुहुन्छ । भाउजु तयार नहुँदासम्म यस्तै गाना बजाना चलिरहनेछ । किनकी कांग्रेस गठबन्धनमा छ । गठबन्धलाई कांग्रेसले गर्दन बुझाएको छ । बरु गर्दन छिन्ला तर कांग्रेसले सत्ता छिन्न दिनेछैन । यो वचन हो दाईको , अनि दाई वचनको पक्का होइबक्सन्छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij