२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सेयर कारोबारमा बदमासी भएकोबारे नियामक निकायलाई अनुसन्धान गर्न महतको आग्रह

सेयर कारोबारमा बदमासी भएकोबारे नियामक निकायलाई अनुसन्धान गर्न महतको आग्रह

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका सेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको सेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बैठकमा विशेष समयमा बोल्दै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रुपमा लिन नसकिने बताएका हुन् ।

‘पछिल्लो समय सेयर बजारमा गति देखिएको छ । तर सेयर बजारमा जसरी ‘बुलिस ट्रेण्ड’ देखिएको छ, त्यसलाई हामीले सहजरुपमा लिनसक्ने अवस्था अवश्य छैन । त्यहाँ केही चलखेलको सम्भावना प्रशस्त देखिएका छन्’, उनले भने, ‘कतिपय संस्थाको जसरी सेयर मूल्य बढेको छ, त्यो स्वभाविक देखिँदैन । ती संस्थाको क्षमता कति हो र आर्थिक अवस्था कस्तो छ ? नाफा कति दिनसक्छ ? भन्ने आधार नहेरिकनै मूल्य बढेको छ । यतातर्फ सरकार र नियामकको ध्यान जान जरुरी छ ।’

पुँजीबजारमा केही व्यक्तिले ‘इन्साइडर ट्रेडिङ’ गरेको हुनसक्ने  महतले आशंका प्रकट गरे । ‘कुनै कम्पनीको भित्री सूचना प्राप्त गरेर त्यसको दुरुपयोग गर्ने र आम लगानीकर्तालाई फस्ने परिस्थिति निर्माण हुन सक्दछ । केही त्यस्ता संस्थाको सेयर मूल्य बढेकोप्रति गम्भीर रुपमा हेर्न जरुरी छ’, उनले भने ।

नेपाल राष्ट्र बैंकको कहिले चाहिनेभन्दा लचक र कहिले चाहिनेभन्दा कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा समस्या आएको धारणा महतको छ । यद्यपि पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु-याउने उनले बताए । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएपनि पनि यसले ब्याजदर भने घट्ने नदेखिएको उनको भनाइ छ ।

सार्वजनिक वित्त व्यवस्थापन र बजेट प्रणालीमा अनुशासन आवश्यक रहेको महतको धारणा थियो । संघ सरकारबाट तीन करोडभन्दा तलका आयोजनालाई बजेट विनियोजन नगर्ने कार्यविधि बनेकोमा अघिल्लो सरकारले साना आयोजनामा पनि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर आर्थिक अनुशासन उल्लंघन गरेको बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको महतले उल्लेख गरे । त्यस्तै, आन्तरिक र बाह्य ऋण परिचालन ठिक ठाउँमा खर्च नभएमा ऋणको भार बढ्दै जाने उनको भनाइ छ । गत आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा रकमान्तर भएको विषय उहाँले संसद्मा उठाए ।

स्रोत सुनिश्चितता बिनाका धेरैवटा आयोजना अघि बढाउनु सरकारको कमजोरी रहेको र यसले राम्रो नतिजा नदिने डा महतको भनाइ छ ।

सरकारले बजेटमार्फत् धेरै नयाँ आयोजना प्रस्ताव गरिएको तर प्राथमिकताका र राम्रो नतिजा दिने आयोजनामा यथेष्ट बजेट विनियोजन हुन नसकेको उनले बताए । बजेटरी प्रणालीमा समस्या देखिएकाले त्यसमा सुधार आवश्यक रहेको महतले बताए । अगाडि बढाउन नसकिने र स्रोत व्यवस्थापन गर्न नसकिने आयोजना रद्द गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij