२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एमालेका सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी हेरफेर, बराल उपाध्यक्षमा मनोनित

एमालेका सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी हेरफेर, बराल उपाध्यक्षमा मनोनित

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले इन्चार्ज तोकेको हो । बैठकले कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराई, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको हो ।

यसअघि कोसीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । त्यस्तै बैठकले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो । योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यस्तै, स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

१७ जना केन्द्रीय सदस्यमा मनोनीत

महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनकाअनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन् ।

यस्तै,  केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij