२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्ने पुष्पलाल नै हुन्ः राष्ट्रपति पौडेल

कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्ने पुष्पलाल नै हुन्ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् ।

बिहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको बताएका हुन् ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैंमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यों । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताए । राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गरेको बताए ।

उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे । राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना संभव भएको उल्लेख गरे ।

उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij