२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा भेलाको उद्घाटन गरे । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ ।

पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताए । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नेछन् भने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij