२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

यस्तो छ मुकुल ढकालको प्रतिवेदन(पूर्णपाठ)

यस्तो छ मुकुल ढकालको प्रतिवेदन(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले प्रतिवेदन सार्वजनिक गरेको हो ।

बुधबारको बैठकमा ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए । त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए । ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए ।

प्रतिवेदनमा उनले पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको उल्लेख गरेका छन् । ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले गत आम निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्याएको छ । हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नपर्ने हुन्छ ।’

उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ । जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग संवाद गरेका थिए । उनले यो प्रतिवेदन केन्द्रीय समिति बैठकमा राख्ने र बैठकको प्रत्यक्ष प्रसारण गर्ने माग गरेका थिए । तर उनको माग पूरा भएन । केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij