लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस यही असार १२ गते अर्थात् जुन २६ तारिखमा संसारभर विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । विश्व स्वास्थ्य संगठनको सन् २०२१ को प्रतिवेदनमा विश्वका २९ करोड ६० लाख मानिसले कुनै न कुनै प्रकारको लागु औषध सेवन गर्ने गरेको तथ्यांक उल्लेख छ । हालसम्म यो संख्या अझ बढीसकेको छ । सन् २०१९ मा विश्वभर ६ लाख मान्छेको लागु औषध सेवनकै कारण मृत्यु भएको थियो । जसमध्ये ८० प्रतिशतले मृत्यु हुनुअगाडि कुनै न कुनै रुपमा लागु पदार्थ सेवन गरेका थिए । तीमध्ये २५ प्रतिशतको मृत्युको कारण त लागुऔषधको ओभरडोज थियो । यो डरलाग्दो तथ्यांकले विश्वमा लागुऔषध दुव्र्यसन एक गम्भीर चुनौतीका रुपमा देखा परेको पुष्टी हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा लागु औषध दुव्र्यसनीको अवस्थाबारे नियमित रुपमा पर्याप्त खोज अनुसन्धान भएको पाइदैन । सन् २०२० मा नेपाल सरकारले गरेको औषधी प्रयोगकर्ता सर्वेक्षणले नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषध प्रयोगकर्ता रहेको तथ्य सार्वजनिक गरेको थियो । सोही अध्ययले लागु औषध दुव्र्यसनमा लाग्नेहरुको संख्या वर्षेनी ५.०६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यसअर्थमा हाल नेपालमा १ लाख ५६ हजार भन्दा बढी सक्रिय लागु पदार्थ प्रयोगकर्ताहरु रहेका छन् । लागु औषध प्रयोगकर्ताहरुमध्ये ठूलो हिस्सा २० देखि २९ वर्ष उमेरसमूहले ओगटेको छ । कुल प्रयोगकर्ताहरुमध्इे झण्डै ७० प्रतिशत प्रयोगकर्ता २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । कुल प्रयोगकर्ताहरुमध्ये करिब ९३ प्रतिशत पुरुष र ७ प्रतिशत महिला रहेका छन् । यो लागु औषधको नियमित प्रयोगकर्ताहरुको मात्रै तथ्यांक हो । नशालु वा मादक पदार्थ, सूर्ती वा ध्रूमपानजन्य पदार्थ प्रयोगकर्ताहरुको संख्या अझ बढ्दो छ ।
उल्लेखित तथ्यांकहरुले विश्वभर चुनौतीका रुपमा स्थापित भइसकेको लागु औषध दुव्र्यसनी नेपालमा पनि एक गम्भीर समस्याका रुपमा देखा परेको छ । सरकारले कानूनी प्रबन्धहरुमार्फत लागु औषध दुव्र्यसनीलाई नियन्त्रण गर्न खोजेपनि प्रभावकारी परिणाम हासिल हुन सकेको छैन । लागु औषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनको ५ दशक पुग्नै लाग्दापनि लागु औषधको प्रयोग, ओसार पोसार र अवैध धन्दा नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरीले लागु औषध नियन्त्रण ब्यूरो नै बनाएर काम गरिरहेको छ । ब्यूरोले गत १ वर्षमा मात्रै १७ हजार किलोभन्दा बढी गाँजा, ५ सय किलो चरेस,१५ किलो हेरोइन,४५ किलो अफिम र ७ किलोभन्दा बढी सुई बरामत गरेको थियो । सो अवधीमा पक्राउ परेका ५ हजार ३ सय ३९ जना लागु औषध कारोबारीमध्ये ५ हजार ९३ जना नेपाली नागरिक हुनु आफैमा डरलाग्दो तथ्यांक हो ।
लागु औषधको प्रयोगलाई कानूनी र सामाजिक रुपमा निरुत्साहन गरिदापनि युवापुस्तामा दुव्र्यसनी बढ्दै जानु चिन्ताको विषय हो । विद्यालय उमेरदेखि नै कुनै न कुनै प्रकारको कुलतमा लाग्ने किशोर किशोरीहरुको संख्या बढ्दै गएको छ । शिक्षक र अभिभावकको हरप्रयासका बावजुद नयाँ पुस्ता कसरी कुलतमा फस्दैछ ? यसबारे वस्तुनिष्ठ अध्ययनको खाँचो भइसकेको छ । सरकारी नीति तथा कार्यक्रममा नजर लगाउने हो भने संघ, प्रदेश र स्थानीय सरकारसमेतले लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेको देखिन्छ । सरकारी र गैर सरकारी संस्थाहरुले पनि लागु औषध नियन्त्रणको क्षेत्रमा प्रयत्न गरिरहेकै छन् । यद्यपि देखासिकी, मनोरञ्जन र साथीहरुको दवावका कारण युवाहरु दुव्र्यसनीमा लाग्ने गरेको अधिकांश अध्ययनहरुको निष्कर्ष छ ।
यसको रोकथामका लागि विद्यालय तहदेखि नै प्रभावकारी कार्यक्रमहरु गरिन जरुरी छ । आधारभूत तहको शिक्षाकै क्रममा विद्यार्थीहरुलाई लागु पदार्थ प्रयोगको असर र कानूनी दण्डहरुबारे दिक्षित गराउन जरुरी छ । लागु पदार्थ दुव्र्यसनी रोक्न अन्य प्रकारका कुलतहरुको निरुत्साहन समेत जरुरी छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले सन् २०१९ मा २६ लाख व्यक्तिहरुले मदिरा सेवनकै कारण ज्यान गुमाउन परेको थियो । मदिरा सेवन गर्ने अभिभावकका सन्तानहरु कुनै न कुनै प्रकारको कुलतमा रहने वा लागु औषधको दुव्र्यसनीमा पर्ने सम्भावना बढी रहने अध्ययनहरुकै निष्कर्ष छ । यसर्थ नयाँ पुस्तालाई नयाँ लतबाट जोगाउन पुरानो पुस्ताले पनि पुरानो लत त्याग्नुपर्ने देखिन्छ ।
लागु पदार्थ दुव्र्यसनीले सम्बन्धित व्यक्तिलाई मात्रै नभएर परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेको हुन्छ । जुनसुकै कारणले दुव्र्यसनीमा परेको भएपनि त्यस्ता व्यक्तिहरुको सुधार र सामाजिक पुनस्थापनाका लागि सबै क्षेत्रमा पहल हुन जरुरी छ । हाल देशैभरी पुनस्थापना केन्द्रहरु खुल्ने क्रम बढेको छ । त्यस्ता पुनःस्थापना केन्द्रहरुलाई मापदण्ड अनुकुल सञ्चालन हुने वातावरण बन्न जरुरी छ । यदाकदा सुधार गृह नै दुव्र्यसनीको अखडा बनेका उदाहरण पनि सार्वजनिक भएका छन् । त्यसैले सरकारले सुधार केन्द्रहरुको नियमित अनुगमन गर्नुपर्छ । परिवारको कुनैपनि सदस्य लागु औषध दुव्र्यसनीमा परेको अवस्थामा परिवारका सदस्यहरुको नै पहिलो दायित्व हुन्छ । त्यसैले इज्जत वा प्रतिष्ठाको नाममा परिवारका सदस्यको दुव्र्यसनीलाई नजरअन्दा गर्ने, ढाकछोप गर्ने वा प्रोत्साहन गर्ने काम कसैले गर्नु हुँदैन । बरु दुव्र्यसनीमा परेको परिवारजन, आफन्त वा कोही पनि व्यक्तिलाई दुव्र्यसनी मुक्त हुन सम्भव छ भन्ने प्रेरणा दिन जरुरी छ । आजपनि संसारभर लागु औषध दुव्र्यसनीबाट उम्किएर आफ्नो जीवन सुधार्ने मात्रै होइन सामाजिक रुपान्तरण योगदान दिनेहरु संख्या पनि कम्ती छैन ।
विश्वभर लागु औषध दुव्र्यसनीविरुद्धको दिवस मनाइरहँदा नेपालमा पनि यसको रोकथामका लागि यथेष्ट पहलहरु सुचारु गर्न जरुरी रहेको सम्बन्धित सबैले स्मरण गर्न जरुरी छ । व्यक्ति, परिवार, समाज र सरकारको सामूहिक प्रयत्नबाट नै मुलुकलाई दुव्र्यसनीबाट मुक्त पार्न सकिन्छ । यसका लागि सबैले यथास्थानबाट भूमिका निर्वाह गरौं । नयाँ पुस्तालाई दुव्र्यसनीबाट मुक्त राखौं ।
-लेखक समाजप्रेसको ग्लोबल इडिटर हुनुहुन्छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij