काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटको जग्गा अवैध ढंगले बेच्ने बाटो खुला गरिदिएर नीतिगत भ्रष्टाचार गरिएको सन्दर्भमा मुलुकका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच शीतयुद्ध सुरु भएको छ ।
सर्वोच्च अदालतले कानून र ऐन नै बनाएर गिरीबन्धुको जग्गा बिक्री गर्ने अनियमिततामा एमाले नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वथा अनुचित ठहर गरेको थियो । यसबारे संसदमा आवाज उठाउने र गिरीबन्धु काण्डमा संलग्न एमाले नेताहरुलाई कारवाहीको माग गर्ने तयारी कांग्रेसले गरेपछि एमाले अध्यक्ष ओलीले बुधबार कांग्रेसविरुद्ध अभिव्यक्ति दिएका थिए । ओलीले गिरीबन्धुको ५१ बिगाहा र १९ बिगाहा जग्गा कांग्रेसले कमिसन खाएर बिक्री गराएको आरोप लगाएका थिए । उता तथ्य भने फरक परेको छ । दुवैपटक जग्गा बिक्रीको अनुमति दिने र बिक्री हुँदाको बखत एमालेकै नेतृत्वमा सरकार रहेको पाइएको छ । यहीकारण ओलीको कडा प्रतिवाद कांग्रेस शीर्ष नेतृत्वले गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पालामा गरेको निर्णयको दोष कांग्रेसलाई नदिन एमालेलाई चेतावनी दिएका छन् । आफू प्रधानमन्त्री हुँदा गरेको निर्णयको स्वामित्व लिन देउवाले एमाले अध्यक्ष ओलीलाई चेतावनी दिएका हुन् । ‘ओलीजीले बोलेको कुरा बाहिर आएको छ । आफ्नो पालामा निर्णय गर्ने अनि कांग्रेसको पालाको भनेर बोल्ने ?’, देउवाले प्रश्न गरे । उनले ओलीलाई आफूले गरेको काम गरेको हुँ भन्न नडराउन सुझाव पनि दिए । ‘उहाँ जत्तिको नेताले जे पाए बोल्न हुँदैन । आफूले गरेको काम गरेको हुँ भन्न नसक्ने ?’, देउवाले भने ।
कांग्रेस वरिष्ठ नेता डा.शेखर कोइरालाले पनि एमालेको झूठको खेतीसँग कांग्रेस नडराउने बताए । देउवा र कोइराला दुवै प्रजातान्त्रिक विचार समाजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै थिए । ‘एमालेको धम्कीले कांग्रेस डराउँदैन । हेक्का रहोस् ओलीजी राजाको धम्कीसँग पनि नडराएको कांग्रेस हो’, शेखरले भने । उनले गिरीबन्धु जग्गा प्रकरणमा एमाले नेतृत्वको सरकारले नीतिगत भ्रष्टाचार गरेको तथ्य जनताले बुझिसकेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij