२०८३ भाद्र ११ बिहिबार

Aug 27 2026 Thursday

२०८३ भाद्र ११ बिहिबार

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।

बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने काठमाडौं फर्काइएको छ । उनीहरू आफन्तको घरमा आफ्नै व्यवस्थापनमा बसेको सुवेदीले जानकारी दिए । बीच बाटोमा गएर जोखिममा पर्नुभन्दा सुरक्षित रूपमा काठमाडौंमै बस्ने व्यवस्था गरिएको उनले बताए ।

यातायात व्यवसायीसँग समेत प्रहरीले समन्वय गरिरहेको छ । सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर ट्राफिक प्रहरीको आधिकारिक सूचनाका आधारमा मात्रै सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीहरूले आफ्ना सदस्यलाई सर्कुलर गरेको सुवेदीले बताए ।

बीपी राजमार्ग सञ्चालनमा

वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ । यस्तै, फर्पिङतर्फका सडकबाट साना सवारीसाधन सञ्चालन भइरहेका छन् । तर ती सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने तथा अनुमति र रुट परमिटको व्यवस्था पनि लागू हुने सुवेदीले बताए ।

फर्पिङतर्फबाट टाटा सुमोजस्ता साना सवारीसाधन भने सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार सडकको अवस्था निरन्तर अनुगमन भइरहेको छ र सम्बन्धित निकाय तथा यातायात व्यवसायीसँग समन्वय गरी सवारीसाधन सञ्चालनसम्बन्धी निर्णय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij