२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सदनमा अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

सदनमा अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरूलाई सदन अवरुद्ध नगर्न आग्रह गरेका छन् । मंगलबार बिहान कांग्रेस नेताहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेकाले सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँग छलफलमा गर्न कांग्रेस महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस नेता लेखकले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आफूहरूसँग सहयोग मागेको जानकारी दिए ।

त्यसक्रममा प्रधामन्त्रीले सहकारीको रकम ठगीको समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि प्रयास गरिरहेको बताएका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै लेखकले भने, ‘संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएकाले राष्ट्रपतिको सम्बोधनलाई तपाईंहरूले अवरोध नगरिदिनु भन्नुभयो ।’

जवाफमा आफूहरुले संसदीय दलको बैठक बसेर निर्णय गर्ने जानकारी दिएको लेखकले बताए । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धान हुनुपर्ने माग राख्दै आएको छ । त्यसका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसका लागि तयार नहुँदा संसद अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij