२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

गण्डकीमा सरकारको विश्वासको मत विवादमा, कांग्रेसले कानुनी उपचार खोज्ने

गण्डकीमा सरकारको विश्वासको मत विवादमा, कांग्रेसले कानुनी उपचार खोज्ने

गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस अदालत जाने भएको छ ।

यसअघि मुख्यमन्त्रीको नियुक्तिमा समेत प्रश्न उठाउँदै कांग्रेसले दायर गरेको रिट सर्वाेच्चले खारेज गरेको थियो । आइतबार सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । तर, गण्डकीमा विश्वासको मत जित्न ३१ मत चाहिने कांग्रेसको भनाइ छ ।

सभामुख धितालले असंवैधानिक काम गरेको भन्दै कांग्रेसले फेरि अदालत जाने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोमा उनको पक्षमा एमाले र माओवादी केन्द्रका ३० सांसदले मत दिए । बैठकमा उपस्थित ५९ सांसदमध्ये कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने ३ जना तटस्थ रहेका थिए ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई बहुमतका लागि ३१ सांसदको मत आवश्यक थियो । तर प्रदेशसभाका सभामुख धितालले कांग्रेसको अवरोधका बीच सर्वोच्च अदालतको फैसला बमोजिम मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुखले गरेको घोषणा पूर्ण रुपमा असंवैधानिक, संसदीय अभ्यास र परम्परा विरुद्ध रहेको बताए । उनले यसका लागि कानुनी उपचार खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij