२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

घरमा आगलागी हुँदा २५ लाख भन्दाबढीको क्षति

घरमा आगलागी हुँदा २५ लाख भन्दाबढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीनवटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ। घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्।

‘ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ‘, स्थानीय अरुणकुमार सिंहले भने, ‘शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन।’ आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij