२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

स्याङ्जामा १० वर्ष कोरिया बसेर आएका युवाले थाले ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती

स्याङ्जामा १० वर्ष कोरिया बसेर आएका युवाले थाले ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।

‘दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ’, उनले भने, ‘त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।’ कोरियाबाट ड्रागनखेती गर्छु भन्ने संकल्पका साथ गाउँ आएका उनले दुई वर्षअघि तीन सय बिरुवा लगाएका थिए । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।

‘नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ’, उनले भने, ‘गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।’ सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनी बताउँछन् । प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका उनी मागअनुसार आपूर्ति गर्न नसकेको बताउँछन्।

छ लाखको लागतमा व्यावसायिक खेती थालेका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न रु तीन लाख उपलब्ध गराएको छ । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उनले बताए ।उनले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु)र चिनियाँ साग पनि लगाएका छन्। ‘ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ’, उनले भने, ‘तीन–तीन महिनामा साग बेचेर रु एक लाख आम्दानी गर्दै आएको छु।’

साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । उनले फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आएका छन् । काटेर सुकाएको सेतोपाती प्रतिकेजी रु एक सयका दरले बिक्री हुने गरेको छ । ‘अहिले उत्पादन भएको ड्रागन फ्रुटलगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij