२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सञ्चार मन्त्रालयका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति

सञ्चार मन्त्रालयका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पनि दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरुलाई पनि अदालत बुझाइएको थियो।

आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए। तर उनी देश छाडेर भाग्न लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो।

२०६७ सालमा शाखा अधिकृत हुँदा उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए। जतिबेला उनले टिप्पणी उठाएको आरोप छ। यसअघि अख्तियारबाट जोगिएका उनलाई सीआईबीले भने कीर्ते र संगठित अपराधको कसुरमा पक्राउ गरेको हो।

संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ। यसअघि बालुवाटार जग्गा प्रकरणमा अरु ११ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ।

सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, बाबुराजा महर्जन, घमनकुमार कार्की, रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ।

पक्राउ परेका १२ जनालाई पुनः म्याद थपका लागि मंगलबार एकसाथ उपस्थित गराइने छ। यसअघि पक्राउ परेकाको म्याद सोमबार नै सकिने भएकाले सचिवसहित तीन जनालाई पनि त्यति नै थुनामा राख्न प्रहरीले अनुमति मागेको थियो।

तर यो प्रकरणमा सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij