२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

नक्खु कारागारमा विपश्यना ध्यान केन्द्र

नक्खु कारागारमा विपश्यना ध्यान केन्द्र

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र ‘धम्मासय’को मंगलबार उद्घाटन गरेका छन्।

कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए। आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए ।

अग्रज रुपचन्द्र बिष्टले आफूसँगको कुराकानीमा ’मानिसहरू सिद्दार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए ।

कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफूले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए ।

कैदी बन्दीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘एकपटक गल्ती गर्नुभयो, अपराध गर्नुभयो। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरू आउनेछ।’

कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए । केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझ्नुभएकैले नक्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij